वासिङटन: संयुक्त राज्य अमेरिकाको सेक्रेट सर्भिसले ह्वाइट हाउसबाहिर एक सशस्त्र व्यक्तिमाथि गोली प्रहार गरेको छ । सशस्त्र व्यक्ति गम्भीर घाइते भएका छन् ।
यस घटनापछि एक घण्टासम्म त्यहाँको सुरक्षाकर्मीले अमेरिकी राष्ट्रपतिको आवासलाई घेराबन्दी गरेका थिए । सेक्रेट सर्भिसका अनुसार सशस्त्र व्यक्ति ह्वाइट हाउसनजिकै रहेको ई स्ट्रिट जाँचचौकीमा पुगेका थिए । उक्त जाँच चौकस्म्मि सर्वसाधारणलाई प्रवेश अनुमति छ ।
सेक्रेट सर्भिसका कर्मचारीले ती व्यक्तिलाई रोकेर हतियार समर्पण गर्न कयौंपटक चेतावनी दिएका थिए ।
ती सशस्त्र व्यक्तिले सेक्रेट सर्भिसको चेतावनीलाई बेवास्ता गरेका थिए । अमेरिकी सेक्रेट सर्भिसका अफिस अफ गभर्नमेन्ट एन्ड पब्लिक अफेयर्सका सहायक उपनिर्देशक डेभिड ए ल्याकोवेट्टीले भने, ‘सशस्त्र व्यक्तिले हाम्रो आदेश नमानेपछि सेक्रेट सर्भिसका एजेन्टले गोली प्रहार गरेका हुन् । गोली लागी घाइतेपछि उनलाई हिरासतमा लिएका छौं ।' उनलाई अस्पतालमा भर्ना गरिएको पनि सेक्रेट सर्भिसले जानकारी दिएको छ ।
ल्याकोवेट्टीले ती व्यक्तिको हतियार बरामद गरिएको स्पष्ट पारेका छन् ।
तत्काल राष्ट्रपति भवन घेराबन्दी गरी सुरक्षा स्थिति बलियो बनाएको उनले खुलासा गरेका छन् । उक्त घटनाका बेला अमेरिकी राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसमा थिएनन् । त्यतिखेर ओबामा एन्ड्रयुज एयरफोर्स बेसमा गल्फ खेल्न गएका थिए । घटनालगत्तै उपराष्ट्रपति जो बिडेनका निम्ति थप कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
सुरक्षाकर्मीले सशस्त्र व्यक्तिबाट थप हतियार नियन्त्रणमा लिएका छन् । नजिकै पार्क गरी राखिएको उनको कारबाट थप हतियार कब्जा गरिएको थियो ।

0 comments:
Post a Comment