300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

‘मृत्युलाई जित्न अथाह माया चाहिन्छ’ – मनिषा काेइराला

काठमाडौं, वैशाख २२ । ‘क्यान्सरलाई मृत्युको पर्यायवाचीका रूपमा लिने गरिन्छ। रोग भएको सुइँको पाउनासाथ पनि मानिस निःशब्द बन्छन्। मर्दैछु भन्ने लाग्दा अनौठो लाग्छ। एकाएक जीवनप्रतिको माया बढ्छ। सुखद जीवनका लागि संगालेका सबै सपना बिराना लाग्छन्।

त्यस्तै परिस्थितिको युद्धमा होमिएको एउटा योद्धा हुँ म,’ अभिनेत्री एवं क्यान्सरकी योद्धा मनीषा कोइरालाले मंगलबार काठमाडौंमा भनिन्, ‘सफल नहुने देखिएको मेरो युद्ध परिवारको माया, हौसला र मेरो उच्च मनोबलले जिताइदियो। दोस्रो जीवन पाउनुपहिले मैले भगवान्‌सँग केहीकेही बाचा गरेकी थिएँ। त्यसलाई कडा मेहेनत र अनुशासनका साथ कार्यान्वयन गरें, जसले गर्दा आज तपाईंहरूसमक्ष म यसरी उभिन सकें।
मनीषाले मिठो मुस्कानका साथ आफ्नो जीवनकथा सुनाउँदा किशोरकिशोरीको स्वास्थ्य र विकाससम्बन्धी पहिलो राष्ट्रिय सम्मेलनका सहभागी एकाएक गम्भीर बने। क्यान्सरविरुद्धको युद्धमा होमिँदा मनीषाले गरेको संघर्ष र प्राप्त गरेको सफलताको रहस्य सुन्न उत्सुक भएका किशोरोकिशोरी मात्र होइनन्, उनीहरूको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यक्तिसमेत स्तब्ध भए।

सुरुमै मनीषाले सहभागीलाई जीवनका सबैभन्दा ठूला तीन कुरा के हुन् भनेर सोधिन्। कसैले आशा जबाफ दिए, त कसैले शिक्षा भएको बताए। तर मानीषाका लागि सबैभन्दा नजिकको व्यक्तिसँगको प्रेम, पेसा र स्वास्थ्य जीवनका सबैभन्दा ठूला कुरा थिए। ‘जसलाई सबैभन्दा धेरै प्रेम गरिन्छ, त्यो जीवनका लागि ठूलो कुरा बन्छ, चाहे त्यो बच्चा होस्, आमाबुवा वा प्रेमी। पेसाले गर्दा मानिसको पहिचान बन्छ।
पेसा सफल बन्ने तत्व स्वास्थ्यमा लुकेको हुन्छ। तर त्यसलाई ख्याल गरिँदैन। जसले गर्दा चिकित्सक र अस्पताल खोज्दै जीवनभर भौंतारिरहन्छन्’, मनीषाले भनिन्, ‘माया, पेसा र स्वास्थ्यबीच अटुट सम्बन्ध छ। यी तीनबीच असन्तुलन पैदा भयो भने जीवनको अर्थ क्षणभरमै गुम्छ। जीवनमा आइपर्ने ससाना बाधासमेत हटाउन सकिन्न।
प्रेममा असफलता हात पर्यो भने पेसा धर्मराउँछ। पेसा संकटमा पर्यो भने फेरि स्वास्थ्य खस्किन्छ। 

एकपटक खस्किएको स्वास्थ्य पुनः उठ्न धेरै संघर्ष गर्नुपर्छ। संघर्ष गर्न पनि नजिकका व्यक्तिबाट अथाह माया चाहिन्छ।’
उनका अनुसार राम्रो शिक्षा, परिवारको सहयोग र मेहेनतले भारतीय चलचित्रमा उनको पहिचान उच्च बनेको थियो। ७०-७५ चलचित्रमा अभिनय गर्दा ‘बेस्ट एक्टर्स’ का धेरै अवार्ड हात पनि परे। पेसामा पहिचान बन्दा जीवनमा धेरै खुसी मिलेको थियो।

हजारौं दर्शक र सयौं साथीको मायाले काम गर्ने हौसला मिलिरहेको थियो। पेसाको उच्चतम बिन्दुमा पुगिरहेका बेला विवाहित जीवन सोचेजस्तो नभइदिएपछि एकाएक उनको पेसामा दरार आयो। त्यही बीचमा पाठेघरको क्यान्सर पत्ता लाग्यो।

‘क्यान्सर पत्ता लागेपछि म यति धेरै निरास बन्न पुगें, जहाँ जीवन असम्भव लाग्यो। किनभने क्यान्सर हुनु मृत्युवरण गर्नु हो भनिन्छ। तर चिकित्सकको परामर्श, आमाबुवाको माया र हौसला तथा जीवन बाँच्ने मेरो अठोटले क्यान्सरको लडाइँमा होमिएँ र जित पनि प्राप्त गरें।’
क्यान्सर उपचारका लागि अस्पतालको शय्यामा बसिरहेको मार्मिक चित्र देखाउँदै उनले भनिन्, ‘मनले अठोट गर्दै निश्चित र स्पष्ट बाटो रोजेपछि असम्भव केही हुँदैन।’ उनको अनुभव छ- रोगले शरीरलाई कमजोर बनाउने हो मनलाई होइन।
जीवनको आशा मारेर शय्यामा लडिरहेका बेला त्यहाँका चिकित्सकले एक दिन यस्तो परामर्श गरे जुन उनी जिउने आधार बन्यो। त्यतिबेला उनले ती चिकित्सकलाई सोधेकी थिइन्, ‘किन मलाई यसरी सम्झाउँदै हुनुहुन्छ डाक्टरसाप ? ‘ ती चिकित्सकको जबाफ थियो, ‘मैले सम्झाएको कुरा तिमीले भविष्यमा अरूलाई सम्झाउनेछौ भन्ने विश्वासले।’
मनीषाले दोस्रो जीवन पाएमा जीवन जिउने तरिका परिवर्तन गर्ने, बाँकी समयलाई सम्मान गर्दै महत्वपूर्ण काममा लगाउने र अरूलाई सहयोग गर्ने बाचा भगवान्सँग गरेकी थिइन्। ‘आज म बाँच्नमात्र होइन हाँस्न सक्ने बन्नुको रहस्य भगवान्सँग गरेका तिनै बाचा थिए, जुन मैले अनुशानपूर्वक तरिकाले निर्वाह गरें,’ उनले भनिन्। उनका अनुसार जुनसुकै रोग लाग्दा होस् या कुनै समस्यामा पर्दा परिवारको माया, हौसला र स्याहार धेरै आवश्यक पर्छ। जुन उनले सधैं पाइरहिन्।
‘मेरा हजारौं साथी हुँदा दंग पनि थिएँ, लाग्थ्यो सबैले मलाई साथ दिन सक्छन्। तर मलाई क्यान्सर भएपछि अधिकांश हराए। जो नजिक आए उनीहरू नै मेरा लागि महत्वपूर्ण छन्। 

उनीहरूसँग मात्र अचेल मैले समय बिताउँछु, जुन मेरा लागि पनि अर्थपूर्ण छ,’ मनीषाले भनिन्, ‘एउटा गलत निर्णय वा कामले सयौं निर्णय र काममा हात हाल्न पुगिन्छ। त्यसैबाट जीवन बरबाद हुने हो। मैले केही गलत साथीको संगत गरें। एउटा चलचित्र असफल भयो भने पछि पनि हुन सक्छ। त्यसले मलाई दुःखीमात्र बनायो।’


जीवनलाई अर्थपूर्ण बनाउने, सन्तुष्ट दिने र सम्मान मिल्ने काममा मात्र हात हाल्नुपर्ने सल्लाह उनको थियो। ‘जीवन भोगाइको पाठ सिक्दै अहिले मैले जुनसुकै काम पनि छनोट गरेरमात्र गर्छु। जसले मलाई अझ माथि पुर्याउन सकोस्,’ उनले भनिन्, ‘भगवान्को कृपाले मेरो स्वास्थ्य अहिले राम्रो छ।’ उनले क्यान्सरबाट मुक्ति पाएपछि ‘डियर माया’ र ‘गेम’ नामक चलचित्रमा अभिनय गरिसकेको र अझै धेरै चलचित्रमा काम गर्ने योजना बनाएको बताइन्।
उनले भनिन्, ‘म मेरो पेसालाई धेरै माया गर्छु। यसलाई सम्मान पनि उत्तिकै गर्छु। जसले गर्दा मलाई खुसी मिल्छ। तर त्यो खुसीलाई कायम राख्न हामी सबैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसलाई बेवास्ता गर्यौं भने जीवनका सबै खुसी टुट्न पुग्छन्।’

0 comments:

Post a Comment