काभ्रे–परिवारमा सबैभन्दा पहिलो जन्मेको सन्तानले सबैभन्दा बढी नै जिम्मेवारीहरु बहन गर्नुपर्ने बाध्यता हाम्रो समाजमा पहिला देखिनै चल्दै आएको चलन हो । उसले आफूभन्दा तलका भाईबहिनीहरुको भविष्यको बारेमा चिन्ता गर्नैपर्छ ।
विशेष गरि आर्थिक विपन्नता र ग्रामिण भेगका समुदायमा यस्तो बढी नै भेटिन्छ । आफूभन्दा सानाका भविष्यको सपना पहिलो सन्तानले देख्नै पर्छ । अरुको लागि सपना देख्दा आफ्नो सपना भने चक्नाचुर भईदिन्छ । dilmaya
गोकुले गाविस वडा नं. ७, काभ्रे निवासी सोममाया गोले यस्तै एक पात्र हुन् । उनी हाल १८ वर्षकी भईन् ।
लोकबहादुर र साईली माया तामाङको पाँच जना सन्तान माध्यमा जेठी सन्तान हुन् सोममाया ।
भाईबहिनीहरुलाई पढाउने कर्तव्य पूरा गर्दा गर्दा उनले विद्यालयको अनुहारै देख्न पाइनन् । तीन जना भाई र एक जना बहिनीको भविष्य सोममायाको हातमा थियो । आर्थिक अवस्था कमजोर, त्यसैत काभ्रेको डाँडापारिलाई कर्णालीको रुपमा चित्रण गरिन्छ ।
आयस्रोत केही नभएको कारण उनले कलिलै उमेरमा बैदेशिक रोजगारको बाटो रोजिन् । ‘आफूले त पढ्न पाइएन, भाईबहिनीहरुलाई चाहिं राम्रोसँग पढाउनै पर्छ भन्ने लागेकोले मैले विदेशमा जाने योजना बनाएँ ,’ सोममायाले भनिन्, ‘हामी नपढेका ४ जना गाउँकै साथीहरुलेबीचमा सल्लाह भयो अनि हामी विदेश गयौं ।’
विदेश जाँदा पनि सोममायाले ऋण गरेरै गएकी थिइन् ।
भाईबहिनीहरुको भविष्य कोर्न विदेश गएकी सोममायाको यतिखेर सबै सपना चक्नाचुर भएको छ, त्यतिमात्र होइन आफ्नो जीवन समेत धरापमा परेको छ । विदेश गएको १० महिना मै उनी विरामी भइन्, उनको कम्मरदेखि तल चल्दैन, हातहरु पनि राम्रोसँग चल्दैन । साहुको ऋणको साहुँ त तिरिन् तर व्याज तिर्न नपाउँदै उनी विरामी भईन् ।
शुरुमा उपचार हुनेमा उनी ढुक्क थिइन् । उपचारकै क्रममा उनले भाईबहिनीहरुको भविष्य कोर्ने सपना फेरि देखिकी थिइन् । ‘रोगको उपचार गरेर निको हुन्छु र फेरि विदेश गएर भाईबहिनीहरुलाई पढाउँछु भन्ने लागेको थियो ।’ अब भने आशा मार्दै उनले भनिन्, ‘त्यत्रो खर्च गर्दा पनि उपचार भएन, अब चाहिं भाईबहिनीहरुको लागि केही गर्न सक्दैन जस्तो लाग्छ ।’
निको नहुन्जेल उनी कार्यरत कम्पनीले उपचार खर्च व्यहोर्ने भनिएता पनि यतिखेर शुरुमा पठाएको रकम बाहेक कम्पनीले पठाएकै छैन ।
उनले आफू बाँच्न चाहेको बताईन् । अनि निको भएर देश र समाजको सेवा गर्न चाहेको बताईन् । ‘म बाँच्न चाहन्छु, यो रोगबाट मुक्त हुन चाहन्छु ।’ उनले आँसु खसाल्दै भनिन्, ‘विशेक भएर म देश र समाजको सेवा गर्न चााहन्छु ।’ उनलाई मंगलबहादुर सिङतान नामको दलालले शिखर मेनपावरबाट ८० हजार रकम लिएर पठाएको थियो ।
यतिखेर उनले सबैसँग उपचारको लागि सहयोगको याचना गरिरहेकी छिन् । उनले सहयोगको लागि सम्पर्क नं. ९८१०३०६६५३ तथा ९८१००००१८० मा सम्पर्क गर्न समेत अनुरोध गरेकी छिन् ।
यस्तो छ सोममायाको कथा ?
म २०७१ साल असारमा बैदेशिक रोजगारको सिलसिलामा दुवईमा पुगें । त्यहाँ मैले विद्यालयमा सरसफाईको काम गर्नुपथ्र्यो । तलब सुविधा जे जस्तो भए पनि काम मेरो लागि सजिलै थियो ।
काम गरेको करिब १० महिना भएको थियो । विहिबारको दिन थियो, करिब राती ३ बजे अचानक ब्यूँजेछु । व्यूँजिदा मेरो मुटु दुखीरहेको थियो । म रोएँ, कराएँ, तर मेरो केही लाग्दैनथ्यो किनकी त्यहाँ मलाई साथीहरुले सहयोग गर्न सक्ने अवस्थामा थिएनन् । विहान ५ बजेसम्म म सहेरै बसें । मुटु दुखेकै अवस्थामा म काममा गएँ । तर काम भने मैले गर्नै सकिन, सुतिरहें ।
विद्यालयमा क्लिनिकको व्यवस्था थियो । जसअनुसार एकजना नर्सको पनि व्यवस्था थियो । नर्सले मलाई चेकजाँच गरिन् ।
उनले रोग पत्ता लगाउनै सकेनन्, केही नभएको उत्तर दिइन् । मलाई भने झन् पछि झन् दुखिरहेको थियो । पछि अस्पताल लिएर गयो तर विडम्बाना, कम्पनीले मेरो मेडिकल कार्ड नबनाएकोले मैले त्यहाँ उपचार पाइएन । त्यसपछि मलाई कम्पनी कै अस्पतालमा लग्यो । चेकजाँच भयो तर के भएको हो मलाई केही पनि भनेनन् डाक्टरले । मात्र केही औषधी दिएर पठाए । कोठामा गएर दवै खाएर सुत्न सल्लाह दिए डाक्टरले ।
कम्पनीकै गाडिले मलाई होस्टेलमा पु¥यायो । होस्टेलमा पुगेपछि म गाडिबाट ओर्लिन खोज्दा एक्कासी मेरो खुट्टा चलेन । म टेक्न खोज्छु त खुट्टा टेकेन । म साह्रै दुखित भएँ । म बेस्सरी रोएँ । म बल्ला बल्ला कोठासम्म गएँ । साथीहरु कोही पनि थिएनन् । कामबाट फर्केकै थिएनन् । कोठामा न खानेकुरा, न पानी, औषधी समेत नखाई म सुतें । निरन्तर मुटु दुखि नै रहेको थियो । मुटु दुखेको समयदेखि नै पिसाब पनि बन्द भयो ।
म पिडाले छटपटाईरहेकी थिएँ । विरानो मुलुकमा आफ्नो भन्नु को नै हुँदो रहेछ र ?
एकछिन पछि मलाई एक्कासी पिसाब लाग्यो । म ट्वाईलेट जान उठ्न मात्र के खोजेकी थिएँ, मेरो कम्मर देखि तला चल्दै चलेन । म बेस्सरी रोएँ फेरि । मैले आफ्नो देशलाई सम्झें, आमाबुबालाई सम्झें, आफन्त, परिवार सबैलाई सम्झें । विरानो देशमा मलाई सहयोग गर्ने कोही पनि भएनन् । धेरै समयपछि पिसाब लागेको तर ट्वाईलेट जान नसक्दा मैले खपेर बस्नुको विकल्प भएन । पेट फुल्दै आयो मेरो । दिउँसो पाँच बजे तिर साथीहरु कामबाट फर्के, अनि बल्ला मैले पिशाव फेर्ने मौका पाएँ । त्यसपछि साथीहरुले कम्पनीलाई जानकारी दिए ।
तर कम्पनीको गाडी करिब बेलुका ७ बजे मात्र आयो । अर्कै अस्पताल लगे । फेरि त्यो अस्पतालले पनि अर्कै अस्पतालमा रिफर गरे । शुक्रबार फेरि अस्पताल पु¥याएपछि एमआरआई ग¥यो । एमआरआई मेसिनबाट जब बाहिर निकाल्यो, फरि मेरो दुवै हात चलेन । मलाई त्यतिखेर झन् पिडा भयो । कम्मरदेखि तल नचल्नु अनि त्यसपछि दुवै हात पनि नचल्ने भएपछि मैले होस् गुमाउँदै गएको रहेछ ।
शनिबारको दिन साथीहरु मलाई भेट्न अस्पताल आए । नेपालको खबर मलाई सुनाउँदै थिए उनीहरु ।
नेपालमा भूकम्पले ठूलो क्षति पु¥याएको खबर सुनाए साथीहरुले । उनीहरुले मेरो बुबालाई फोन लगाई दिए । बुबासँग बोल्दै थिएँ, मलाई सास फेर्न गाह्रो भयो, मेरो स्वर पनि हरायो, त्यसपछि मलाई केही थाहा भएन, ५ दिनसम्म मेरो होस् आएको रहेनछ । होस् आउँदा म आईसियूमा रहेछ । खाना खान नसक्ने भएपछि नाकको प्वालबाट पाईप घुसारेर मलाई खान ख्वाएको रहेछ । सास फेर्न पनि मलाई गह्रो भएको रहेछ । बेडमा सुत्दा भीरमा सुतेको जस्तो महासुस् हुँदोरहेछ, खोलाको छेउमा सुतेको जस्तो भान हुँदोरहेछ । नाकबाट रगत आउन थालेपछि मुखबाटै पाईप हालेर खाना ख्वाएको रहेछ । सास फेर्न गाह्रो भएपछि घाँटीमा प्वाल पारि पाईप राखेको रहेछ । मलाई अलि ठीक भएपछि साधारण बेडमा लगे ।
तर रोगले फेरि च्यापेपछि आइसियू मै लगेर राखे । ५ दिन पछि साधारण वार्डमै लगेर राखे । मेरो पूरै होस् आईसकेको थियो । दिनानुदिनको शारिरीक अभ्यासले मेरो हात अलि अलि चल्न थाल्यो । आफै खाना खान सक्ने भईसकेकी थिएँ । तर कम्मरदेखि तला भने चलेन । अनि मैले व्हीलचेयरको सहयोग लिनुप¥यो ।
विरामी भएर करिब ३ महिना भएको थियो । मलाई त्यतिकै नेपाल पठाउने कुरा भएको थियो ।
तर नुवाकोटको एक जना दिदी मिनिशा लामाले नेपाल र विदेशमा रहेका सबैलाई खबर गरेपछि मलाई पठाउने मेनपावर र कम्पनीलाई दबाव सिर्जना गरेछन् । नेपाल पठाएर पनि उपचार खर्च व्यहोर्ने सर्तमा कम्पनीले नेपाल पठाए । एयरपोर्टबाटै मलाई सिधै काठमाडौंको ग्रेन्डी अस्पताल लगे ।
मेरो उपचारको लागि भनेर कम्पनीले नेपाली रुपैयाँ १० लाख ३६ हजार मसँगै पठाए । अनि बीचमा फाउण्डेशन नामक संस्थाले मलाई ६ लाख रकम सहयोग ग¥यो, ६ महिना अस्पतालमा उपचार गर्दा सबै पैसा सकियो । ६ महिनाको बीचमा आस्था १६ लाख खर्च गर्दा समेत मेरो उपचार हुनसकेन ।
एकातिर उपचार हुनै नसक्नु, अर्को तिर भएको पैसा पनि सकेपछि मैले बनेपामा आएर बस्ने योजना बनाएँ । त्यही अनुसार म बनेपामा बस्न थालें । बस्दा बस्दा पछाडि घाउ भएपछि म बस्न समेत नसक्ने भएँ । त्यसमाथि अचेल मेरो हात राम्रोसँग चल्दैन ।
ग्रेण्डी अस्पतालका मुख्य डाक्टर डा. राजकुमार पौडेलसँग मेरो भेनाजु राजेन्द्र ध्लानले कुरा गर्दा उपचार हुन लामो समय लाग्ने बताए ।
निरन्तर उपचारमै लाग्नुपर्ने डाक्टरको सल्लाह रहेछ ।
म सबैसँग के अनुरोध गर्न चाहन्छु भने, म बाँच्न चाहन्छु, मलाई उपचारको लागि तपाईंले सकेको सहयोग गर्नुहोस् । मेरो भविष्य तपाईंहरुकै हातमा छ । म एक आर्थिक विपन्न, काभ्रेको विकट ठाउँको तपाईंकै चेली हुँ । मलाई बाँच्ने अवसर दिनुहोस् ।
Thursday, May 5, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment