काठमाडौं, वैशाख २५ – २० वर्ष अघि आफ्नै घर छेउमा रोपवे चल्दा हर्षित भएका ललितपुर भट्टेडाँडा गाविसका वैद्यनाथ बजगाई हिजोआज रोपवेका कारण दुखी हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ ‘उहिले त यो बरदान बन्यो अहिले काल बन्ला जस्तो छ ।’ अहिले रोपवे सञ्चालनमा नआएपछि उपकरण बिस्तारै खिईंदै गएको र खम्बा पनि खिईएर जीर्ण बन्दै जाँदा खम्बा ढलेर केही हुने हो कि भन्ने कुराले उहाँलाई सँधैजसो पिरोल्छ ।
२० वर्षअघि बनेको रोपवे ४ वर्ष अघिसम्म चल्यो ।
भट्टेडाँडा गाविसमा रहेका रोपवे भट्टेडाँडाबाट झाँक्रीडाँडासम्म ३ कि.मि दुरीमा जोडिएको छ ।रोपवे सञ्चालन हुँदा ललितपुरको दक्षिणी भेगका गाविसहरु भट्टेडाँडा, इकुडोल, ठूलादुर्लुङ, प्युटार, गिम्दी लगायत मकवानपुरसम्मका सेवाग्राहीले सेवा लिने गरेको स्थानीय गोपाल संजेलले बताउनुभयो ।
दैनिक आवश्यक पर्ने वस्तुहरु चामल, पसलका सामग्री, नुन, तेल, मट्टीतेल, दूध, तरकारी, फलफूल, खसी–बोकालगायत सामान रोपवेबाट ओसारपसार हुने गरेको उहाँले सुनाउनुभयो ।
यस भेगमा सडक सञ्जालले जोडेर सवारी साधन आवत जावत भएसँगै उपभोग्य सामग्री ढुवानी गर्न सहज भएपछि रोपवे ओझेलमा परेको रोपवे संरक्षण समितिका अध्यक्ष टेकरनाथ तिमल्सिनाले बताउनुभयो ।
‘सडक खोलेसँगै रोपवेमा भाडा बढी भएको उपभोक्ताले गुनासो गर्न थाले ।’ समितिका अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘लोडसेडिङ, महँगो उपकरणहरु बजारमा नपाईने र मर्मत सम्भार महंगो भएकोले पनि गर्न सकेनौँ ।’
युरोपियन युनियनको सहयोगमा बागमती जलाधार योजनाले २०५२ मा झण्डै ८० लाख रुपैयाँ खर्चेर रोपवे बनाएको थियो । जलाधार योजनाले रोपवे संरक्षण समिति बनाएर स्थानीय बासिन्दालाई जिम्मा लाएको सुनाउनुहुन्छ, समितिका अध्यक्ष टेकरनाथ तिमल्सिना । रोपवे सञ्चालन हुँदा तीन जना कर्मचारीले पनि रोजगारी पाएका थिए ।
अब यो ठाउँमा रोपवेले वस्तीलाई जोखिम निम्त्याएको भन्दै अन्य ठाउँमा स्थानान्तरण गर्नु पर्ने स्थानीयले माग गरेको संरक्षण समितिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।
रोपवे संचालन गृहमा १५ किलोवाट क्षमताको दुई वटा जेनेरटरसहित झण्डै २० लाख बराबरको सामग्री रहेको उहाले जानकारी दिनुभयो ।
एक पटकमा तीन सय किलोको सामान बोक्ने क्षमता रहेको रोपवेले ४० मिनेटमा ३ किमिको दुरीमा लाने ल्याउने गरी सेवा दिएको स्थानिय जगत तामाङले बताउनुभयो ।
‘मान्छे हिँडेर ४ घण्टा लाग्नेमा २० मिनेटमै सामान आउँथ्यो । तर अहिले सडक खोलेपछि यसको कामै रहेन’ उहाँले भन्नुभयो ।
अहिले सडकको बिस्तारले गर्दा रोपवे प्रयोगमै नआएको भट्टेडाँडा गाविसका सचिव ध्रुब थापाले जानकारी दिनुभयो ।
रोपवे चल्नु अघि यस भेगका तरकारी, फलफूल र दूध तथा दूधजन्य सामग्री बजारसम्म ल्याउनै सकेको थिएन । रोपवे सञ्चालनमा आएपछि किसानको उत्पादनले बजार पाउन सकेको थियो ।
यहाँका सडक (कान्तिलोकपथ) वर्षायाममा ठाउँ–ठाउँमा पहिरो गई बाटो अवरोध हुने र गाडी नियमित नचल्ने समस्या अझै पनि कायमै रहेको हुँदा यस भेगका किसानले रोपवेको आवश्यकता ठान्ने गरेको स्थानीयबासिन्दा बताउँछन् ।
सञ्चालनमा नआएको रोपवे अहिले दूध संकलन गर्ने डेरी बनेको छ । यसलाई तत्काल आवश्यक ठाउँमा स्थानान्तरण गरी जनजीविकालाई सहज बनाउनु उचित देखिन्छ ।
ललितपुरमै रहेको अर्को रोपवे इकुडोल गाविसबाट भट्टेडाँडासम्म चल्ने रोपवे भने अझैसम्म पनि नियमित सञ्चालनमा छ । यो प्रविधिलाई सडकभन्दा दीगो, प्रभावकारी र वातावरण मैत्री मानिन्छ ।
0 comments:
Post a Comment