आजकाल धेरै कथाव्यथा फेसबुक वरीपरी नै घुमेका देखिन्छन् । कथा मात्र किन फेसबुककै आधारसिलामा फिलिम बने, उपन्यास रचिए अनि धेरै मान्छेले घरबार समेत बसाए । मेरो चाँही सानो किस्सा मात्र । फेसबुकका वालमा अनेक–अनेक पढ्दै जाँदा एउटा फिचर बेलाबेलामा टुप्लुक्क आइपुग्छ, ‘पिपल यू मे नो ।
’ तेस्मा खासै हेक्का राख्ने गरिन्न् तर एकदिन फ्रेन्ड सजेसनमा फेसबुकले यस्ती राम्री केटी मेरो वालमा चिप्काइदिएको रहेछ कि नहेरौँ भन्दा पनि मेरो आँखा नजानी–नजानी त्यतै तानिए । जस्तो की त्यो तस्बिरबाट कुनै अलौकिक विद्युत चुम्बकिय तरङग प्रसारित छ । एकछिन त म ढक खाएँ, जुन म खानाभन्दा बढी नै खाने गर्छु । कल्पना गर्नुहोस् लाटोले केरा हेर्दा उसको दुवै ओठ ठूलै ग्याप बनाएर छुट्टिएको हुन्छ, दाँत झरेका छैनन् भने करिब चौबिस दाँत ह्वाङै देखिन्छन् र ओठका दुई कुनाबाट र्याल चुहुइराख्या हुन्छ । हो विल्कुल त्यस्तो थियो मेरो मुद्रा ।
बक्वास ! यस्ती राम्री केटीलाई पनि ‘पिपल यू मे नो’ मा राख्ने हो ? यिनलाई त ‘पिपल यू मस्ट नो’ को अर्कै क्याटगोरी चाहिन्छ । यस्ती राम्रीलाई जोसले नि चिन्छ, नचिने चिन्नुपर्छ । झ्याप्पै क्लिक गरिदिए ‘एड फ्रेन्ड’ । तलपट्टि पछि पो देखें– टु म्युचल । चिन्दै नचिनेका मुलन्खरेहरु रहेछन् । हैन ! हैन !! ति राम्री केटीको तस्बिरले दिमागमा तिरंगा हानेर नचिनेको हैन, चिन्दै नचिनेका हुन् । सोचे अब फेसबुक फ्रेन्ड लिस्ट एक पटक फेरी सफाया गर्ने बेला भएछ । दुई दिन भो फ्रेण्ड एसेप्टको नोटिफिकेसन आकै हैन् ।
झोक चलेर आयो । अरे यार नाथे फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाको पो त हो, थोडी मसँग बिहे गरेर घरजम गरौँ भनेर अनुरोध गर्या होर ? तेस्को बाउसँग हातै माग्न गए जस्तो । हल्का कुरोलाई हल्कै पो लिने हो । फ्रेन्डसिप एसेप्ट गर्दा जगतै डुब्ने त हैन । एड फ्रेण्डमा केबल दुई शब्द हुन्छ, दुई क्विन्टल्को मन फगत किन ? कि एक क्लिक गर्न आवश्यक साँढे एक क्यालोरी एनर्जी सापटी दिउँ ? मनै छैन लौ त भने ‘एड फ्रेण्ड’ हटाए भईगोनी सेटिङमा गएर, टन्टै साफ । चौथो दिन प्रोफाइल पेजमै गए । उनका चार हजार नौ सय पन्चानब्बे साथी रहेछन् । मुखमै आको अर्को ढक फेरी खानै पर्यो । अब उनी सेलेब्रिटी हुन मात्र पाँच साथी पर थिइन् ।
फेरी सोचे, अहो ! उनलाई रिक्वेस्ट त धेरै जवानहरुले पठाउनुभएको होला । प्रश्न उठ्यो अब छ्नौटमा पाँच को–को पर्छन । हैट, अब मेरै लिस्ट मै पो पर्न हम्मे–हम्मे हुने भो त । पाँच हजारभन्दा बेसी साथी बनाउन नपाईने रे किनकी फेसबुके परिभासा अनुसार । त्यसपछि त्यो मान्छे स्वतः सेलेब्रिटी हुन्छ रे असिमित लाइकको लागि अब पेज बनाउनुपर्ने रे । वा वा फेसबुक कुन मोडमा ल्याइ छाडिदियौँ । एक हप्तामा ‘एड फ्रेण्ड’ आइकन हटेछ । तस्बिरले मेरो रिक्वेस्टलाई बेवास्ता गरेको थियो । छेउमा ‘मेसेज’ आएको थियो, एक मेसेज फ्याँले । प्रतिउत्तरको पाइलो पलास देखिएन । लौ जा त भोलिपल्ट त पोकनै गरिदिए ।
थाहा थियो हुने केही हैन । एवं् रितले दिनानुदिन पोकाहरु थपिदैँ गए । सधा झैँ एकाबिहानै पारि पसल गए । चिया पप दाब्दै थिएँ, कलेज ड्रेसमा एक हुल केटी आए । म सँगै छेउछाउमा बस्ने भर्खर कलेज सक्किएका केटाहरु सल्बलाउन थाले । ती केटीहरु जती–जती नजिक आउँछन् त्यति–त्यति केटाहरुका क्रियाकलाप घनिभूत हुँदै गयो, मानौँ केटीहरुले हिँड्दा फेरोमोन छोड्दै हिँडेका छन् र सामिप्यतामा त्यो गन्ध अझ गाढा हुँदैछ । एउटाले जिब्रो फड्कारेको देखेर हपारेँ, टोइट केटा, एकाबिहानै के गर्या ? उसले भन्यो, ‘ह्या दाई पनि, केटी जिस्काउन पनि समय चाहिन्छ त ?’ ‘भएपनि भाले बास्न पा छैन् ?’ ‘हामी बास्या देख्नुभएन ? कुखुरा भाले नै बास्या सुन्ने भए चाहिँ पोल्ट्री फार्म जानुस् ।’ उसले भन्यो । अर्कोले थप्यो, ‘होनी केटी भन्या त जुन बेला देखिन्छ, त्यही बेला जिस्काउने हो, कसले तिथिमिति र लगन जुराएर बस्छ ।’ केटीहरु हाँस्दै गए । केटाहरुले जिस्क्याएको बेलामा केटी डराउँदै वा लाज मान्दै जानुपर्छ रे, यदी हाँस्दै गई भने केटाको बिल्ला हुन्छ रे । केटी जिस्काउने गेमको नियम विचित्र रहेछ । केटाहरुको अनुहार फुङ उडेको जस्तो देखेर मैले सोधेँ, अनि थाहा पाए । भरे मेसेन्जरमा एक मेसेज थियो ।
मेसेज तेही बहु–प्रतिक्षित अकाउन्टबाट आएको थियो, ‘तपाईंलाई म राम्रोसँग चिन्छु, तपाईंले हाम्रो ग्याङको सबैलाई कुनै जमानामा म्याथ पढाउनुभएको थियो तर अचम्म लाग्यो तपाईं पनि त्यही लोफर ग्याङको सदस्य हुनुहुँदो रहेछ ।’ अर्को ढक खाएँ । यो मेसेजको कनेक्सन नै पत्ता लाउन गाह्रो पर्यो । म ट्युब लाइट हुँ धेरैपछि दिमागको बत्ती बल्यो । बिहानका कलेज ड्रेसका केटीमध्ये एक थिइ त्यो । तर, कुन थिइ ? अनुहार त मैले कसैको पनि हेर्न भ्याइन त । सोचेँ – भोक भोली पनि लाग्छ, पारी पसलमा चिया भोली पनि पाक्छ । भोली आयो । ढुकुवा केटाहरुको जथ्था पहिला आयो, कलेजका केटीहरुको हुल अनि त्यसपछि आयो ।
केटाहरु आफ्नो क्रियाकलाप प्रदर्शन गर्दै थिए । म एक टकसँग केटीहरुका अनुहार नियाल्दै थिए, छ जनामध्ये कसैको पनि तस्बिर त्यो थिएन । सबै जसोले मेरो पपको धुलोले बिग्रिएको अनुहार हेर्दै हाँस्दै हिँडे । कहिले र कहाँ पढाएको विद्यार्थी रहेछन् चिन्न सकिन । केटाहरुको चर्तिकला सकिएपछि अली टाठो देखिनेलाई सँगै बोलाए । मोबाइलमा त्यही फोटो र नाम देखाएर सोधे, ‘ति मध्ये यो केटी कुन चाँही हो ?’ ‘खै कुन हो कुन, केटीहरु फोटोमा मात्र राम्रा हुन दाई, असली दुनियाँमा त उही हो ।’ ‘के भन्छ ?’ मैले झन्डै अर्को ढक खानुपरेको । ‘जती संगत गर्दै गयो उनीहरुको कुरुप्ता ‘दिन दुगुना रात चौगुना’ गरी बढ्दै जान्छ ।’
उसले भन्यो । फेरी भन्यो, ‘केटिहरुलाई सुन्दरी वा च्वाँक भन्या सहि छ, सुन्दरी भन्या बाँदरनी हो, च्वाँक भन्या सुङुरको बच्चा जस्तो । हुन पनि उनीहरु त्यस्तै हुन । ‘केटो साह्रै निरासावादी रहेछ । अचम्म लाग्यो त्यस्तो विचार भएकाहरु पनि किन केटी जिस्क्याउनेको पंक्तिमा आइलाग्छन् । साँझपख ‘लभ द कुपर्स’ भन्ने मूभी हेर्दा दिमागमा झड्का लाग्यो । त्यो देखेदेखे जस्तो लाग्ने फेसबुकको तस्बिर ओलिविया वाइल्डको थियो । तीनै ६ मध्ये कसैले उनको तस्बिरलाई प्रोफाइल बनाएर रखेका । आजकाल सेलेब्रिटी हुने एक सय एक तरिका छन् ।
Friday, May 6, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment