काठमाडौं, वैशाख २६ - एक वृद्ध दम्पती (गोपनियताका कारण नाम सार्वजनिक नगरिएको) महिनाको एक पटक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी शाखामा पुग्छन् ।
एचआइभी एड्स संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन अस्पतालको एआरटी शाखाले एन्टि रेट्रोभाइरल अर्थात एआरभी दिने गर्छ । ती वृद्ध दम्पती आफ्नो लागि नभई ७ वर्षे सन्तानका लागि एआरभी लिन अस्पताल पुग्ने गरेका छन् । रहर हुँदा हुँदै पनि सन्तान नभएपछि बुढेसकालमा उनीहरुले धर्मपुत्रका रुपमा एक बालकलाई अपनाएका थिए ।
ती बालकलाई एचआइभी एड्स संक्रमण रहेको २ वर्षअघि मात्र थाहा भयो ।
‘पाँच वर्षको उमेरसम्म त खासै स्वास्थ्यमा समस्या देखिएको थिएन । तर त्यसपछि भने निमोनियाले सतायो’ काखमा दुब्लो पातलो बालकलाई खेलाइरहेकी बृद्धाले भनिन् ‘उपचार पटक पटक गराउँदा पनि निको नभएपछि एचआइभीको परीक्षण गरियो, रिजल्ट पोजेटिभ देखियो ।’
आफ्ना सन्तान नभएपछि उनीहरुले धर्मपुत्र ग्रहण गरेका थिए । आफैंले पालन पोषण गरेर हुर्काएको बालकलाई एचआइभी संक्रमण भएको पुष्टि भएपछि ती वृद्ध दम्पतीका लागि आकाश नै खसेजस्तो भयो ।
‘
एचआइभी संक्रमण भएको थाहा पाएपछि मलाई छाँगाबाट खसेको जस्तो भयो’ वृद्धाले भनिन् ‘जुन बालकलाई आफ्नो भविष्य भनि सोचेका थियौँ, उसैलाई कहिल्यै निको नहुने रोग लागेपछि के होला ? तैपनि हामीले हिम्मत हारेका छैनौँ । जहिलेसम्म सक्छौँ हामी उसको उपचारमा लागि रहनेछौं ।’
एचआइभीले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ भन्ने जानकारी भएका यी दम्पतीले बालकलाई रोग लाग्न नदिन हर संभव प्रयास गरिरहेका छन् । उनीहरु बच्चालाई लिएर हिँडेको बेलामा तातो पानीको थर्मस र फलफुल लगायतका पोषिलो खानेकुराको झोला कहिल्यै छुटाउँदैनन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी शाखामा पुग्ने उनीहरु एक्ला होइनन् । अर्का एक पाँच वर्षे बालक पनि महिनामा त्यहाँ एक चोटी भेटिन्छन् ।
जन्मँदै एचआइभी एड्स सङ्क्रमित उनलाई उक्त सङ्क्रमण भएको दुई वर्षअघि मात्र पत्ता लाग्यो ।
नेपालको पश्चिमी क्षेत्रमा घर भएका उनका बुबा भारततर्फ कामको सिलसिलामा गइरहन्थे । उनकै बाबुबाट आमालाई यो रोग लागेको र गर्भमा छँदा उनी पनि त्यसबाट सङ्क्रमित भएको अनुमान मात्र गर्न सकिन्छ । किनकि यो कुरालाई अझ स्पष्ट पार्न उनका आमाबुबा दुवै जीवित छैनन् ।
ती पाँच वर्षीय बालककी आमा पनि गत वर्ष एड्स सङ्क्रमणकै कारण बितिन् । त्यस बेलादेखि उनको लालनपालन र रेखदेख एक गैरसरकारी संस्थाले गर्दै आएको छ । महिनाको एकपटक एआरभी थेरापीका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी शाखामा ल्याइन्छ ।
उनलाई त्यहाँ ल्याउने लैजाने व्यवस्था पनि त्यही गैरसरकारी संस्थाले नै गर्छ ।
अर्की एक बालिकाको व्यथा पनि उस्तै छ । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारमा उनका बुबा भारतमा कामकै सिलसिलामा जाने क्रममा नै आफ्नो शरीरमा एचआइभीको कीटाणु बोकेर आए । उनीबाट श्रीमती र श्रीमतीबाट सन्तानमा एचआइभीको जीवाणु सर्दै गयो ।
उनका आमाबाबु त जीवितै छन् तर उनीहरुको शारीरिक अवस्थामा सुधार आउन सकेको छैन । परिवार नै एक गैरसरकारी संस्थाको भरमा बाँचेका छन् । बालिकाको रोगबारे उनलाई जानकारी गराइएको छैन । अहिले उनी अन्य स्वस्थ बालबालिकासँगै कक्षा ५ मा अध्ययन गरिरहेकी छिन् । उनलाई महिनाको एक पटक अस्पताल ल्याएर औषधि खुवाइन्छ तर के का लागि के औषधि हो उनलाई अहिलेसम्म थाहा दिइएको छैन ।
आफूले केही गल्ती नगरे पनि आमाबाबुको गल्तीका कारण यस्तो पीडा भोग्ने बालबालिका धेरै छन् । अस्पतालसम्म पुगेर उपचार गर्न ८९ बालबालिकाले पाइरहेका छन् । सन् २००४ देखि यो अस्पतालमा एआरभी थेरापी सुरु गरिएको थियो ।
त्यतिबेला १४ वर्ष उमेरसम्मका ८९ बालबालिकामध्ये अहिले धेरै युवावस्थामा पुगिसकेका छन् । अस्पतालमा एचआइभी सङ्क्रमितलाई परामर्श दिँदै आएका चिकित्सक अनुप बास्तोलाका अनुसार ती बालबालिकामध्ये युवावस्थामा पुगिसकेका अहिले कोही डाक्टर बन्ने क्रममा छन् भने कोही अन्य विशिष्ट क्षेत्रमा क्रियाशील छन् ।
‘बालकबाट किशोरावस्थामा प्रवेश गर्ने बेला उनीहरुले खाँदै आएका औषधि के हो र यो खुवाउनुको कारण के हो भनेर उनीहरुलाई जानकारी दिन साह्रै गाह्रो छ’ उहाँ भन्नुहुन्छ ‘कोही त डिप्रेसनमा नै पर्ने गर्छन् । यस्तो रोग मलाई मात्र किन लागेको होला भनेर एकोहोरिने गर्छन् । उनीहरुलाई परामर्श दिन गाह्रो हुन्छ ।’
एचआइभी भएको आमाले गर्भधारण गरेर सन्तानलाई जन्म दिन चाहिन् भने २० देखि ४५ प्रतिशतसम्म मात्र बच्चालाई पनि एचआइभी सर्ने सम्भावना हुन्छ । यदि उनले गर्भावस्थादेखि नै एआरभी उपचार सुरु गरिन् भने एक प्रतिशतभन्दा पनि कम बच्चालाई पनि एचआइभी सर्ने जोखिम रहने डा. बास्तोलाले स्पष्ट पार्नुभयो ।
मानव शरीरमा रोग प्रतिरोधात्मक कोशिकाको संख्या ५ सयदेखि एक हजार ५ सयसम्म भयो भने सामान्य नै मानिन्छ ।
डा बास्तोलाले भन्नुभयो ‘५ सयभन्दा कम भयो भने अवसरवादी रोग अर्थात क्षयरोग, निमोनिया, रुघाखोकी जस्ता रोग लागिरहन्छन् । त्यसैले एआरभीले कोशिकाको संख्या घट्न दिँदैन र बढाउँदै लग्छ ।’
एआरभी उपचार सुरु गर्नुभन्दा अघि अवसरवादी रोग लागेमा भने औषधिको प्रभाव कम हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अधिकांश बच्चालाई निमोनिया, क्षयरोग लागेपछि मात्र एचआइभी परीक्षण गराउने भएकाले उपचार नै ढिला हुन पुग्छ र प्रभाव कम हुन जान्छ ।
0 comments:
Post a Comment