चितवन भरतपुरको गौरीगन्जमा जन्मेकी आशालक्ष्मी प्रजापति परोपकार तथा प्रसूति गृह थापाथलीमा डिपुटी मेट्रनका रूपमा कार्यरत छिन् । ३२ वर्षदखि स्टाफ नर्सका रूपमा कार्यरत प्रजापतिले प्रसूतिगृहमा सँगालेको अनुभव रातोपाटीकर्मी आस्था केसीले खोतलखातल पारेकी छन् ।
मेरो बाल्यकाल
मेरो जन्म चितवनको भरतपुर नजिकै रहेको गौरीगन्जमा २०२२ सालमा भएको हो । गौरीगन्जमा रहेको स्कुलमा तीन कक्षासम्म पढेकी हुँ । चितवन हाइस्कुलबाट एसएलसीसम्मको पढाइ पूरा गरेकी हुँ । पहिले एक घन्टा हिँडेर स्कुल जान्थेँ । पछि दाइले साइकल किनिदिनुभयो । त्यसैमा आउने–जाने गर्थें । मेरो ठूलो दाइ र भाउजूले घरमा पढ्ने वातावरण बनाइदिनुभएको थियो ।
बुवाले बिजनेस गर्नुहुन्थ्यो ।
औलो लाग्छ भन्ने मान्यताका कारण चितवनमा धेरै मानिस बस्दैनथे । त्यसैले होला त्यतिबेला त्यहाँ जग्गा सस्तोमा पाइन्थ्यो । भक्तपुरबाट व्यापारका लागि चितवन जानुभएको बुवाले भरतपुर गएर जग्गा किनेर गौरीगन्जमा घर बनाउनुभएको थियो ।nurse-story
पढ्नमा मलाई एकदमै रुचि लाग्थ्यो । मेरो पढाइ ठिकठिकै थियो । घरमा राम्रो वातावरण थियो । एसएलसी सकिएपछि मेरो माइलो दाइले स्टाफ नर्स पढ्नुपर्छ भनेर मलाई काठमाडौँ लिएर आउनुभयो । त्यतिबेला दाइ काठमाडौँ बस्नुहुन्थ्यो । अहिले पाटन हस्पिटलमा काम गर्नुहुन्छ ।
नर्सिङ कलेजमा स्नातकसम्म पढेँ । पछि पद्मकन्या कलेजमा स्नातकोत्तर पढेँ । दाइहरूले नै खोजिदिएको व्यक्तिसँग बिहे गरेँ । अहिले मेरो श्रीमान् मेलम्ची खानेपानी कार्यालयमा काम गर्दै हुनुहुन्छ । दाम्पत्य जीवन राम्रो चलिरहेको छ ।
दाइहरूले मेरा लागि जे सोच्नुहुन्छ, राम्रै सोच्नुहुन्छ भन्ने मलाई लाग्थ्यो । त्यही भएर पनि मैले कहिल्यै उहाँहरूको कुरा काटिनँ । मेरो श्रीमान्ले पनि मलाई राम्रो सहयोग गर्नुभयो । आज म जहाँ छु, दाजुभाउजू र श्रीमान्को सहयोगका कारण नै यहाँसम्म आइपुग्न सफल भएकी हुँ ।
यसरी स्टाफ नर्स भएँ
२०५० भदौ १६ गतेबाट नर्स अधिकृतका रूपमा प्रसूतिगृहमा कार्यरत छु । उसो त त्योभन्दा नौ वर्षअगाडि २०४१ देखि नै मैले पाटन अस्पतालमा स्टाफ नर्सकै रूपमा काम सुरु गरेकी थिएँ । आफूले पढेअनुसार मलाई जागिरका लागि कहिले पनि भौँतारिनुपरेन । मैले सजिलै जागिर पाएँ । त्यतिबेला मेरो पेटमा बच्चा थियो । तैपनि मैले कामलाई निरन्तरता दिँदै आएँ ।
अहिले मेरो छोरा बैङ्ग्लोरमा अध्ययनरत छ भने छोरी थापाथली क्याम्पसमा स्नातक पढ्दै छे ।
पैसा कमाउनका लागि विदेश जाऊ भन्ने धेरैको सुझाव थियो । विदेश गएर धेरै कमाउन सकिन्थ्यो होला । म पैशस कमाउनका लागि मात्र यो पेसामा आएकी होइन । अहिलेका नर्स जागिर पनि नपाएर भौँतारिनुपरेको छ, विदेश पलायन भएका छन् । स्टाफ नर्सको माग जति छ, त्यति मात्रामा सरकारले उनीहरूका लागि जागिर व्यवस्था गरिदिन सकेको छैन । त्यहीकारण मुलुकको स्वास्थ्य क्षेत्र दक्ष जनशक्तिविहीन बन्दै गइरहेको छ ।
आमाको मृत्युको क्षण सम्झन चाहन्न
मेरी आमाले सुत्केरी हुने बेला ज्यान गुमाएकी हुन् । यो प्रसंग आउँदा म जहिले पनि भावुक हुन्छु । रुन मन लाग्छ । यो कुरा मैले मेरो धेरै नजिकका केही बाहेक अरू साथीलाई भनेकी छैन । किन–किन यो कुरा सम्झिरहन मन लाग्दैन । तर, सत्य त सत्य नै हो । बिर्सुं भनेर सबै कुरा बिर्सन पनि कहाँ सकिन्छ र ? नसम्झूँ भनेर पनि त्यो घटनाले घरी–घरी पिरोल्ने गर्छ ।
आफ्नी आमाजस्तै अकालमा जीवन गुमाउन बाध्य महिलाका लागि काम गरिरहेकी छु भन्ने सम्झँदा आमाको आत्मालाई केही राहत महसुस होला कि भन्ने पनि सोच्छु । त्यो समयमा कुनै स्टाफ नर्स या स्वास्थ्यकर्मी भइदिएको भए अथवा कुनै सुविधासम्पन्न अस्पतालमा बेलैमा पुग्न सकेको भए मेरी आमाले त्यसरी अकालमै ज्यान गुमाउनुपर्ने थिएन भन्ने लाग्छ । कुनै पनि आमाको त्यसरी मृत्यु नहोस् भनेर कामना गरिरहन्छु ।
२०२४ मा भाइलाई जन्मने बेला मेरी आमाले ज्यान गुमाउनुपरेको थियो ।
त्यतिबेला त्यति धेरै अस्पताल थिएन । गाउँघरमा सुत्केरी हुने कुरालाई सामान्य रूपमा लिने भएका कारण आमालाई अस्पताल लगिएको थिएन । बुवा बिजनेसकै सिलसिलामा व्यस्त, दाइहरू परीक्षाको कारण सकेसम्म स्कुलको पढाइ नछुटाउने भनेर स्कुल जानुभएको थियो । त्यही समयमा आमा घरमा एक्लै सुत्केरी हुनुभएछ ।
छिमेकी महिलाले बेलैमा सहयोग गर्न सक्नु भएन । पछि ठूलो दाइले एम्बुलेन्स बोलाएर भरतपुर अस्पताल त पुर्याउनुभयो तर पनि अस्पताल पुग्दासम्म आमाको मृत्यु भइसकेको थियो ।
जब मलाई आमाको याद आउँछ तब आफ्नो पेसाप्रतिको सम्मान बढेर आउँछ । यो पेसाप्रति मलाई एकदमै लगाव छ । एउटी नर्स भएर बिरामीको सेवा गर्न पाउँदा गर्व लाग्छ । आफ्नी आमाजस्तै अकालमा जीवन गुमाउन बाध्य महिलाका लागि काम गरिरहेकी छु भन्ने सम्झँदा आमाको आत्मालाई केही राहत महसुस होला कि भन्ने पनि सोच्छु । त्यो समयमा कुनै स्टाफ नर्स या स्वास्थ्यकर्मी भइदिएको भए अथवा कुनै सुविधासम्पन्न अस्पतालमा बेलैमा पुग्न सकेको भए मेरी आमाले त्यसरी अकालमै ज्यान गुमाउनुपर्ने थिएन भन्ने लाग्छ । कुनै पनि आमाको त्यसरी मृत्यु नहोस् भनेर कामना गरिरहन्छु ।
त्यतिबेला धेरै महिलाको सुत्केरी हुने बेलामा विभिन्न कारणले मृत्यु हुने गथ्र्याे । अहिले त्यो केही कम भएको छ । त्यतिबेला मेरी आमाजस्तै गरी सुत्केरी हुँदा समयमा साल (बच्चाको साथी) नभएर धेरै महिलाले ज्यान गुमाउनुपथ्र्याे ।
तर, अहिले भने सुत्केरी महिलाले यसरी ज्यान गुमाउनुपर्ने अवस्था छैन । दूरदराजका गाउँमा त्यस्तो समस्या अझै पनि छ, त्यहाँ पनि स्वास्थ्यकर्मी पुगेका छन् । अहिले साल अड्किएको वा समयमा नभएकाले सुत्केरीले ज्यान गुमाउनुपर्ने कारण दोस्रो या तेस्रो अवस्थामा छ ।
त्यतिबेला एक लाखमा ५ सय ३९ जना जति आमाको ‘मेटरनल डेथ’ हुने गरेको थियो भने अहिले त्यो संख्या २ सय ८० मा झरेको छ । केही कम भए पनि अझै पूर्ण रूपमा मातृशिशु मृत्युदर घटाउन सकिएको छैन । पूरै अन्त्यका लागि हामीले अझै धेरै मिहिनेत गर्नुपर्छ ।
कसरी रोक्ने ‘मेटरनल डेथ’ ?
सबै आमालाई हस्पिटल डेलिभरीमा प्राथमिकता दिनुपर्छ । अहिले जम्मा ४० प्रतिशत महिला मात्र बच्चा जन्माउनका लागि अस्पताल आउने गरेका छन् । ६० प्रतिशत महिला अझै पनि घरमै बच्चा जन्माउँछन् । हाम्रो देशको भौगोलिक बनावट पनि त्यस्तै छ ।
टाढाबाट आउन अप्ठ्यारो छ । सरकारले २०६५ देखि अस्पतालमा आएर सुत्केरी गराउने महिलाका लागि सबै स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिदिएको छ । आउने–जाने यातायात खर्च भनेर १ हजार रुपैयाँसमेते दिने गरेको छ । तर, विकट भौगोलिक अवस्थाका कारणले दुर्गमबाट सबै महिला अस्पतालसम्म आउन सकिरहेका छैनन् ।
दुर्गमका ग्रामीण इलाकाबाट महिला सुत्केरी हुनका लागि अस्पताल आउन सक्दैनन् । त्यस्ता गाउँमा सरकारले दक्ष स्वास्थ्यकर्मी व्यवस्था गर्न सकेमा सुत्केरी हुन नसकेकै कारणले आमाको ज्यान जाने थिएन भन्ने मलाई लाग्छ । कति महिला अन्तिम अवस्थामा मात्र अस्पताल आउँछन् । त्यस्तो जटिल केस भएका आमालाई स्वास्थ्यकर्मीले जति नै कोसिस गरे पनि बचाउन सक्दैनन् ।
एक गाउँ, एक नर्स
एउटा वार्ड वा एउटा गाउँमा एकजनामात्र भए पनि सक्षम मिडवाइफ नर्स भयो भने मातृ मृत्युदर रोक्न सकिन्छ । त्यसैगरी रिफर गर्ने ठाउँमा पनि राम्रो वातावरण भयो भने र एउटा जिल्लामा कमसेकम एउटा त्यस्तो ठाउँ भयो भने पनि यसरी हुने ‘मेटरनल डेथ’ रोक्न या कम गर्न सकिन्छ ।
पहिले–पहिले हाम्रो समाजमा नर्स बन्यो भने छोरी बिग्रन्छन् भन्ने गलत सोच थियो ।
नर्सले रातबिरात नभनेर बिरामीको सेवा गर्नुपर्ने हुन्छ तर हाम्रो समाजमा छोरीका लागि कतिबेला बाहिर निस्किने र कतिबेला घर फर्किसक्ने भन्ने कुरा निक्र्याैल गरिएजस्तै वातावरण छ । छोरीका लागि रात नपर्दै घर फर्किनुपर्ने मानसिकता बोकेको समाजमा नर्स भएर रातभरि अस्पतालमा ड्युटी गरेर बिहान फर्किंदा नाक खुम्च्याउने समाजका भद्रभलाद्मीले त्यस्तो मानसिकताको मलजल गरे होलान् । तर, अहिले जमाना फेरिएको छ । अहिले समाजमा नर्सको माग, इज्जत र प्रतिष्ठा बढिरहेको छ । तर, मानसिकतामा जति परिवर्तन आउनुपर्ने हो, त्यो अझै हुन सकिरहेको छैन ।
तर, मेरो हकमा भन्नुपर्दा यस्तो मानसिकताको सिकार बन्नु परेन । दुई वर्षको उमेरमा मैले मेरी आमालाई गुमाएँ । मलाई मेरी आमाको अनुहार पनि सम्झना छैन । तर, मेरी आमा हुनुहुन्न भन्ने कहिल्यै महसुस गर्नुपरेन । मेरी ठूली भाउजूले हामी दिदीभाइलाई आमाको अभाव कहिल्यै महसुस हुन दिनुभएन । सधैँ सबै रहर पूरा गरिदिनुभयो । पढ्ने कुरामा पनि एक दिन पनि आज स्कुल नजाऊ, घरमा काम छ भनेर कहिल्यै भनेको मलाई सम्झना छैन ।
आँखैअगाडि गुम्यो अर्की आमाको ज्यान
म १८ वर्षकी थिएँ । प्रसूतिगृहमै लेबर रुममा वार्ड इन्चार्जको ड्युटी गर्ने गर्थें । त्यतिबेला अहिलेभन्दा धेरै व्यस्त हुनुपथ्र्याे । तीन लेबररुम थियो । बीचको रुममा एकजना महिला सुत्केरी हुनका लागि आइन् । हामी सबैजना व्यस्त थियौं ।
ती महिला आउनबित्तिकै डेलिभरी भइन् ।
बच्चा र सालसँगै निस्कियो । यो खतराको लक्षण थियो । सामान्यतया बच्चा जन्मिएको १५ मिनेटदेखि आधा घन्टासम्ममा साल झर्नु राम्रो मानिन्छ ।
मलाइ एकदमै डर लागेर आयो । मैले ड्रिप जोडिदिएँ । सहकर्मी डाक्टर उषा र म त्यतिबेला सँगै थियौँ । अर्को रुमबाट सिनियर डाक्टर मल्लले मलाई बोलाउनुभयो किनभने अर्को रुममा पनि त्यस्तै जटिल केस आएको थियो । मैले ती महिला बिरामीलाई छिटोछिटो हेरेँ । उनको योनीमार्ग छियाछिया भएको थियो । बाहिर केही भएको थिएन तर भित्र एकदमै फाटेको थियो । त्यहाँबाट धेरै नै रगत बगिरहेको थियो । मैले सहकर्मी डाक्टर उषासँग केही आवश्यक सल्लाह गरेर अर्को रुमको बिरामी हेर्न गएँ ।
ती महिलाको रगत बग्न रोकिएन ।
डाक्टर उषाले बोलाएपछि डाक्टर मल्ल (जो अहिले सिनियर कन्सल्टेन्ट भइसक्नुभएको छ) र म सँगै आयौं । केस जटिल हुँदै गयो उनी अन्तिम अवस्थामा अस्पताल आएकी थिइन् । मैले अर्को डक्टर बिमलालाई बोलाएँ । अरू पनि आउनुभयो ।
रगत बगिरहेको थियो । त्यो ब्लिडिङ कहाँबाट भएको थियो भनेर हामीले पत्ता लगाउनै सकेनाँै । त्यस्तो केसमा तुरुन्तै बिरामीलाई रगत दिनुपर्ने हुन्छ । बिरामीको रगत स्वयम् बिरामीलाई नै दिन सकिन्छ, जसलाई ‘अटोट्रान्सलेट’ भनिन्छ । त्यस्तो केसमा बिरामीको रगत स्वयम् बिरामीलाई नै चढाउन मिल्ने हुन्छ ।
तर, उनको हकमा त्यसो गर्न पनि सकिएन । पछि उनलाई ‘अप्रेसन थिएटर’ पनि पठायौँ । सिनियर डाक्टरले पनि उनको अवस्थामा सुधार ल्याउन सक्नुभएन । बच्चा ठीक थियो तर विडम्बना लाख प्रयत्न गरेर पनि ती आमालाई बचाउन सकिएन । त्यतिबेला मलाई निकै दुःख लागेको थियो । मैले त्यस्तै भएर अकालमा ज्यान गुमाएकी मेरी आमालाई सम्झिएँ । मैले आफूलाई थाम्न सकिनँ र बाथरुम पसेर एकछिन रोएँ । मेरी आमा त घरमै सुत्केरी हुँदा ज्यान गुमाउनुपरेको थियो । तर, सुविधासम्पन्न अस्पतालमा आएर पनि ती महिलालाई बचाउन सकिएन । यस्तो केस हजारमा एकजनालाई पर्ने गरेको छ । यस्ता एकाध घटना हुन्छन् । जहाँ अनुभव प्राप्त दक्ष स्वास्थ्यकर्मीले पनि त्यस्तो बिरामी बचाउन सक्दैनन् ।
खुसी हुनुमात्र पनि छैन
त्यो क्षण पनि मलाई सम्झिन मन लाग्दैन । दुःख लागेर आउँछ । त्यसकारण डेलिभरी हुनेबेलामा खुसी हुनुमात्र पनि छैन । डेलिभरीपछि पनि आमालाई दुई घन्टासम्म ‘क्लोज अब्जरभेसन’ गर्र्र्नुपर्छ । यस्तो केसमा म बढी नै ‘कन्सस’ छु । कहिले यति गर्दागर्दै पनि समयले साथ दिँदैन । बच्चाको हकमा भने यस्ता धेरै केस छन् । तर, डेलिभरी भएपछि बच्चाको भन्दा आमाको अवस्था चिन्ताजनक हुने गर्छ । मलाई सकेसम्म आफ्नो ड्युटी मनले निर्वाह गरेकी छु भन्ने लाग्छ ।
समान्यतया सुत्केरी आमाको ज्यान जाने केही कारण छन् । एउटा उच्च रक्तचाप हो । अर्को कारण गर्भपतन पनि हो । अहिले अनाधिकृत गर्भपतन गर्ने बढेका छन् । त्यस्तै तेस्रो कारण ‘अस्ट्रक्टोलेबल’ भन्ने हुन्छ । बच्चा आउने योनीमार्गको हड्डी सानो भयो भने बच्चा आफँै जन्मन सक्दैन । त्यस्तो अवस्थामा शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने हुन्छ । त्यस्तोचाहिँ सयमा १२ देखि १५ प्रतिशतमा हुन्छ । सुत्केरी हुनका लागि होम डेलिभरी नगरेर अस्पतालमै जानुपर्छ भन्ने मुख्य कारण पनि यही नै हो । दक्ष स्वास्थ्यकर्मी नै भए पनि घरमा भन्दा अस्पतालमै बच्चा जन्माउनु सुरक्षित र भरपर्दो हुन्छ ।
हाम्रो देशमा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै छन् । मुख्य कुरा त सचेतना नै हो । पेटमा बच्चा आइसकेपछि कमसेकम पनि चारपटक स्वास्थ्य संस्था जचाउन जानुपर्छ । गाउँगाउँमा दक्ष स्वास्थ्यकर्मी खटाउनुपर्छ ।
अहिले सरकारले सुत्केरीका लागि दिइरहेको यातायात खर्च हिमाली र पहाडका धेरै टाढाको भूगोलमा बस्ने महिलाका लागि कम भएको छ । पहिलो कुरा त यातायातमा धेरै खर्च लाग्ने कारण गरिब महिला अस्पताल पुग्नै सक्दैनन् । दोस्रो, आइहाले पनि गाउँका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी भेटिँदैनन् । यसरी पनि महिला घरमै सुत्केरी हुन बाध्य छन् ।
सचेतना र सरकारी नीति आवश्यक
सबैभन्दा मुख्य कुरा सचेतना हो । अर्को कुरा सरकारी नीति । विडम्बना हाम्रो देशमा अस्थिर सरकार छ र एक वर्ष पनि नपुग्दै सरकार फेरबदल भइरहन्छ । दिगो सरकारले मात्र दिगो स्वास्थ्य नीति तर्जुमा गर्न सक्छ ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयम्सेविका महिलाका लागि जागिरको प्रत्याभूति हुनुपर्छ । स्टाफ नर्सको हकमा पनि माग बढिरहेको छ । तर, जागिरको प्रत्याभूति कतै पनि छैन । त्यसकारण नर्सहरू विदेश पलायन भइरहेका छन् । उनीहरूका लागि सेवा–सुविधा बढाइनुपर्छ । अनि बेलाबेलामा उनीहरूलाई सुत्केरी हुने महिलाको अहिलेको अवस्था के छ, कति प्रगति भइरहेको छ भनेर विचार गोष्ठीमा भाग लिने वातावरण बनाइदिने र कसरी अगाडि जान सकिन्छ भनेर योजना दिन आवश्यक छ ।
र, अन्त्यमा जोकोही आमाले अकालमा ज्यान गुमाउनु नपरोस् । सबै अस्पतालमा गएर सुत्केरी हुन आफैँ तयार हुनुहोस् भनेर युवा महिलालाई सल्लाह दिन चाहन्छु ।
Sunday, May 8, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment