धनकुटा: तमोर नदीमा जोकोही बग्नेबित्तिकै उनैको खोजी हुन्छ। प्रहरीचौकी होस् वा सशस्त्र बेस क्याम्पका सुरक्षा फौज, उद्धारकार्य गर्नुपरे सुरुमा उनलाई नै खबर गर्छन्।
विगत ५ वर्षदेखि तमोर नदीमा बगेर मृत्युको मुखमा पुगेका व्यक्तिलाई पुनर्जन्म दिने सारथी बनेका छन् धनपा १३ मूलघाटका २३ वर्षीय सुवास क्षेत्री।
उनले पाँच वर्षको अवधिमा तमोर नदीमा डुबेका १८ जना व्यक्तिलाई सकुशल उद्धार गरे।
उनले १४ वटा शव निकालेर परिवार र आफन्तको जिम्मा लगाएका छन्।
सुवासका बाबुको घर चितवनको कुरिनटार हो भने आमाको धनकुटा मूलघाट। बाल्यकाल कुरिनटारमै बिताएका सुवास प्रेरणाको स्रोत आमालाई मान्छन्। कुरिनटारमा रहँदा उनका भाइ पौडी खेल्ने क्रममा त्रिशूली नदीमा बगेका थिए। भाइलाई आमाले पौडिँदै बचाइन्। आमाले भाइको उद्धार गरेको देखेपछि मान्छे बचाउने संकल्प गरेर आफूले पौडिन जानेको उनले बताए।
९ वर्षअघि कुरिनटारबाट बसाइँ सरी बाबुआमासँगै उनी मावली गाउँ मूलघाट आइपुगे।
तमोर नदीमा उनले पौडिन सिके। उनी मावली गाउँ आएको बखत तमोर नदीमा मान्छे बगाउने खालका धेरै घटना हुन थालेका थिए। सुरुमा २०६५ सालमा एउटा शव निकाले उनले। त्यसपछि बगेका मान्छे निकाल्दै गएको उनी बताउँछन्। उनी भन्छन्, ‘मान्छे बचाउँदा खुसी लाग्छ। मैले गर्दा धेरैले नयाँ जिन्दगी पाए।'
उनका लागि एउटा बिर्सनै नसक्ने क्षण रहेछ। उनी भन्छन्, ‘एकपटक धरानको हङकङ आईडीवालाका आफन्त तमोरमा बेपत्ता भएका रहेछन्। उनको शव उद्धार गर्ने क्रममा मूलघाट पुलदेखि झन्डै तीन घन्टा पौडिँदै गोपालपुरसम्म पुगें।
शव त भेट्टाएँ तर झन्डै आफैं बेपत्ता भएँ।' पौडिने क्रममा धेरै घुमाउरो ठाउँमा आफू परेको उनी सुनाउँछन्। जोखिम मोलेर त्यहाँ पुगेको अहिले पनि सम्झना आइरहने उनले बताए।
बेपत्तालाई उद्धार गर्ने तरिका बताउँदै उनी भन्छन्, ‘बग्दै गरेको ठाउँमा पौडेर गयो। एक हातले पौडियो अर्को हात बगाउँदै गरेको मान्छेको कपाल वा पछाडिको भाग समात्यो। अनि पौडिँदै बाहिर निकाल्यो।'
उनले उद्धार गरेका व्यक्ति केही न केही विषयमा फसेका हुन्छन्। कोही नशामा। कोही प्रेमिकालाई देखाउन पनि बग्ने गरेका छन्। सुवासका बाबु पाँच वर्षअघि बितेका हुन्। उनकी आमाले मूलघाटमै होटेल चलाएकी छन्। भाइ मूलघाटकै नजिकको स्कुलमा पढ्छन्।
आफन्तको उद्धार गरिदिएबापत उनलाई १०÷१५ हजार रुपैयाँ दिँदा रहेछन्। मान्छेको उद्धार गर्नुबाहेक उनको आयआर्जनको मुख्य स्रोत भनेको दाउरा संकलन गर्नु हो।
दाउरा संकलनका लागि उनी २ किलोमिटर माथिसम्म जान्छन्।
विश्रान्ति वृद्धा श्रमले एउटा चितालाई पुग्ने दाउरा ल्याएको ज्याला ११ सय रुपैयाँ दिने गरेको छ। उनको त्यही नै हो आम्दानीको स्रोत। बाढी आएको बेला दैनिक ५ वटासम्म चितालाई पुग्ने दाउरा बटुल्छन्। ‘दाउरा खोज्न मान्छे लगाउँछु', उनी भन्छन्, ‘उनीहरूलाई ज्याला दिएर अलिकति आफू राख्छु।'
धेरै व्यक्तिको उद्धार गरेको भन्दै २०६५ साल असोज ११ गते रोटरी क्लबले उनलाई बहादुरको अवार्ड प्रदान गरेको थियो।
आफ्नो जीवन दाउमा लगाएर परोपकारमा तत्पर यी युवकसँग उद्धारमा खटिँदा प्रयोग गर्न एउटा गैरसरकारी संस्थाले ‘लाइफ ज्याकेट' दिएको थियो।
उनीसँग त्योबाहेक अरू केही साधन छैन। एक्लो प्रयासले जीवनदानको यति ठूलो काम गरे पनि राज्यका तर्फबाट उद्धारमा प्रयोग हुने उपकरण त टाढाको कुरा, सामान्य हौसलासमेत नपाउँदा सुवास खिन्न छन्।
Saturday, May 7, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment