Sunday, May 8, 2016
Tagged under: National
असनमा भूकम्पको धङधङी
काठमाडौं- राजधानीको पुरानो व्यापारिक केन्द्र असनमा आइतबार दिउँसो चहलपहल बाक्लै थियो। व्यापारी र ग्राहक किनमेलमा व्यस्त थिए। तर पुराना घर र साँगुरा गल्लीको पर्याय असनको भीडमा एउटा अव्यक्त त्रास अझै देखिन्थ्यो। पुरानो बस्तीमा भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माण हुने र ढुक्कले रमाउने वातावरण कहिले बन्लाको मनस्थिति सबैका अनुहारमा देखिन्थ्यो।
०७२ वैशाख १२ मा गएको भूकम्पसँगै असनका अधिकांश भौतिक संरचना ठाडै रहे पनि जीर्ण छन्। ठूला भूकम्पको जोखिम कायमै रहेको अड्कल र अनेकथरी हल्लाबीच असन त्रासमुक्त हुन नसकेको स्थानीय बताउँछन्। अहिले पनि किनमेल गर्न आउनेहरू ठूलो भूकम्प आयो भने भाग्ने ठाउँ पनि छैन भन्दै आत्तिने गरेको स्थानीय सुनाउँछन्।
एक वर्षअघि भूकम्पलगत्तै व्यापारीले पसल खोल्ने आँट नगरेपछि लामो समय असन सुनसान बन्यो। बिस्तारै व्यापार बढ्दै गए पनि असन अझै पुरानो लयमा नफर्कि सकेको स्थानीय व्यापारीको भनाइ छ। 'भूकम्पअघि असनमा जस्तो चाप हुन्थ्यो, अहिले छैन।' असन चोकमा ४० वर्षयता व्यापार गर्दै आएका स्वयममान तुलाधर भन्छन्, 'चर्केका घरमा बसेका छन्। व्यापार पनि पहिलेजस्तो छैन।' टेको लगाएका पुराना घर देखाउँदै तुलाधरले थपे, 'त्रासमा बसेर व्यापार गर्नुपर्ने बाध्यता छ।'
असनमा नुनदेखि सुनसम्म पाइन्छ भन्ने पुरानो भनाइ अहिले पनि उत्तिकै प्रचलित छ। अरु ठाउँमा आफूले खोजेको सामान नपाए सबै पुग्ने ठाउँ असन नै हो। त्यसैले टाढा–टाढाबाट असनमा सामान किन्न आउनेको भिड लाग्छ। अहिले असनमा ग्राहकको चाप बाक्लै भए पनि व्यवसायी भने भूकम्पअघि जस्तो चाप नभएको जिकिर गर्छन्। मसला व्यापार गर्दै आएका रविन्द्र तुलाधरले भने, 'मैले व्यापार गर्न थालेको ४० वर्ष भयो। प्रतिस्पर्धा र नयाँ खुलेका पसलको कारण खस्किँदै गएको असनको व्यापार भूकम्पले झनै खस्काइदिएको छ।' इतिहासदेखि नै नेवार समुदायको व्यापारिक थलो मानिने असनमा अहिले भने नेवार समुदायसँगै अन्य समुदाय पनि व्यापार गर्छन्। जोखिम मोलेरै भए पनि भूकम्पले थिलथिलो बनाएका पुराना शैलीका घरमा बसेर व्यापार गर्नुपर्ने बाध्यता रहेको व्यवसायीले सुनाए। असनको थिलथिलो संरचनाबाट ग्राहक आउन डराइरहेको तथा धेरैमा भूकम्पको त्रास अझै नहटेको बताउँदै सिँगारका सामानका व्यापारी गणेशमान श्रेष्ठ भन्छन्, 'भूकम्प गएको ६ महिनासम्म त व्यापारबाट घरव्यवहार नै धान्न सकिएन। अहिले पनि पहिलाको तुलनामा व्यापार थोरै नै छ। भूकम्पका कारण घरखर्च कटौती गर्नु परेको छ।'
असनमा २/३ सय वर्ष पुराना घर छन्। त्यसैले भूकम्प गएलगत्तै अधिकांशले असन ध्वस्त भएको ठानेका थिए। वास्तवमै भूकम्पबाट असनको बाहिरी स्वरुप ध्वस्त नभए पनि भित्री रुपमा भने ध्वस्त छ। असनको सामाजिक, आर्थिक र व्यापारिक रौनक हराएको छ। असन पनि पुनर्निर्माणको पर्खाइमा छ। सरकारले सुरुमा उपत्यका बाहिरका जिल्लालाई पहिलो प्राथमिकता दिएका कारण असन बत्तीमुनी अध्याँरो बनेको छ। 'घर बनाउन सरकारले ऋण दिन्छ भनेर बसेका छौं। भूकम्प गएको वर्षदिन बितिसक्दा पनि ऋणको केही पत्तो छैन।' स्वयममान भन्छन्, 'सरकारको मुख ताकेको होइन, तर हाम्रो आर्थिक अवस्थाले नसकेपछि ऋण आस गरेका हौं।' सरकारले असन पुनर्निमार्णमा कुनै चासो नदेखाएकोमा त्यहाँका व्यापारीको गुनासो छ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment